जजिराले शुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान


१ आश्विन २०७९, शनिबार
jajira 20220917062602

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा-कुवेत दैनिक उडान शुरु गरेको हो ।

यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान शुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए ।

यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान जजिराले जेठ २ बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०-२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो । जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्देै आएको छ । जजिराको एयर बस ३२० नीओ विमानले हाल सम्म हालसम्मे कुबेत-भैरहवाबीच १ सय १० वटा उडान गरेको छ । जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

आउँदो कात्तिक १३ गतेदेखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान सञ्चालन गर्दैछ । हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको छ ।

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थल भएकोले र अन्तराष्ट्रिय क्षेत्रमा नयाँ विमानस्थलको रुपमा रहेको विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डययन प्राधिकरणले विभिन्न छुट दिँदै आएको छ । नारायणी वारीका यात्रुहरु काठमाण्डौ पुग्नु नपर्नेगरी जजिराले कुवेतको हवाइ यात्रा भैरहवाबाट सुरुवात गरेको हो ।

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाण्डौंको विकल्प रुपमा बनेको विमान स्थलमा काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्छन । काठमाडौभन्दा बढी अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने अपेक्षा प्राधिकरणको रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७