बेनी-जोमसोम सडक : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता


५ आश्विन २०७९, बुधबार
beni jomsong

गलेश्वर । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो ।

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका- ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको सो सडक हुँदै खाद्यान्न ढुवानीको व्यवसाय गर्दै आउनुभएका राज शर्माले बताए । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक तीर्थ विकले जानकारी दिए ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लिंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी-जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ ।

यो सडक २०६२/६३ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्रयाक खोलेपछि सञ्चालनमा आएको हो । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूणर् बनेको हो । ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।

बेनी-जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत चार वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको दानाका श्याम विकले बताए ।

भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिजप्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी-जोमसोम-कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको छ ।

यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूणर् योगदान पुग्ने प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार २०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।

कूल ७६ किलोमिटरको बेनी-जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेको गुनासो सुनिदै आएको छ । न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख ईन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो ।

‘कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हँुदैन’, उनले भने, ‘खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।’ राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ ।

अन्नपूणर् गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । भीरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला बस एकतर्फी मात्र आवतजावत गर्न सक्छन् ।

बेनी-जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजरलगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छ्याउने र यातायात सञ्चालन गर्ने गरिएको जानकारी दिए ।

म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उनको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । कागबेनीमा दिवङ्गत पितृलाई सोह्रश्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ ।

यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ । बाढी पहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासोे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७