भीम रावलको टिकट खोसिएपछि एमाले क्षेत्रीय संयोजकले दिए राजीनामा

अछामका सबै कमिटीले राजीनामा दिंदै


२२ आश्विन २०७९, शनिबार
prakash shah uml achham

काठमाडौं । नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसिरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ ।’

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलको टिकट खोसिएपछि उनको गृह जिल्लामा असन्तुष्टि तीव्र बनेको छ । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ ।
एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि शनिबार दिउँसो १२ बजे भीम रावल निकट नेताहरुले अछाममा भेला डाकेका छन् ।

‘एकल सिफारिस भएका लामो समयदेखि सक्रिय जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको छ, यो षड्यन्त्रपूर्ण अन्यायको विरोध गर्छौ,’ अछामका एक एमाले नेताले भने, ‘क्षेत्र नम्बर–१ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामुहिक राजीनामा दिँदैछौं ।’

prakash

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७