ओलीलाई शाक्यको फोन : म चुनाव लड्दिनँ, काठमाडौं-८ मा विकल्प खोज्नुहोस्


२२ आश्विन २०७९, शनिबार
astalaxmi shakya

काठमाडौँ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गर्दै काठमाडौं–८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले एमाले अध्यक्ष ओलीलाई फोन गर्दै आफू करिब ७० वर्ष भइसकेको र यसअघि नै अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प खोज्नु पर्ने बताएकी हुन् ।

अध्यक्ष ओलीले काठमाडौं– ८ का लागि शाक्यको नाम टुंगो गरेका थिए । ‘मैले पहिले नै अब म उठ्दिँन भनेको थिए, कुनै अन्यथा होइन अब म करिब ७० वर्ष भइसके एउटै मान्छे कति पटक मन्त्री, सांसद, प्रधानमन्त्री हुने ? अब नयाँलाई विकल्प दिनुपर्छ भनेको छुु’ शाक्यले भनिन्, ‘मेरो उम्मेदवारी हुँदैन, मेरो ठाँउमा अरु नै व्यक्ति उम्मेदवार हुनु हुनेछ ।’ उनले थपिन्, ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

उनले संसदीय राजनीति छोडे पनि पार्टीको राजनीतिक काम भने जारी राख्ने बताएकी छन् । पार्टी भित्र नयाँलाई विकल्प दिनुपर्ने आवाज उठिरहेकाले आफूले उनीहरुलाई अवसर दिनका लागि पनि यो निर्णयमा पुगेको बताइन् ।

शाक्यले यसअघि नै नउठ्ने भने पनि अध्यक्ष ओलीले हरेक क्षेत्रमा जित्ने सम्भावना भएका व्यक्तिको सूची तयार गर्दा शाक्यलाई पनि उठाउने निर्णयमा पुगेका थिए । शाक्यले यसै क्षेत्रबाट विगतमा प्रतिनिधि सभामा पनि सांसद बनेकी थिएन् । गत चुनावमा वाग्मती प्रदेश सभामा उठेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७