गोरखाबाट चुनाव लड्न पाउँदा गौरव लागेको छ : प्रचण्ड

‘गोरखा आउँदा म कता आएँ भन्ने लागेकै छैन’


२३ आश्विन २०७९, आईतवार
prachanda 3

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना लागि गोरखा हरेक दृष्टिकोणले ऐतिहासिक जिल्ला भएको बताएका छन् । आज (आइतबार) गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै प्रचण्डले आफ्नै परिचित ठाउँ र परिचित जनताको बीचमा आएको महसुस भएको बताए ।

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँ–बायाँ राखेर प्रचण्डले भने ‘गोरखा ऐतिहासिक जिल्ला हो । युवा अवस्थामा गोरखामा बसेर अध्यापन गरेको जिल्ला पनि हो । मैले यही पार्टी हेडक्वाटर राखेर जनयुद्धको पुरै तयारी यहीबाट गरेको हो ।’
उनले जनयुद्धको पहिलो सैनिक तालिम दिएको ठाउँ पनि गोरखा नै भएको स्मरण गरे ।

‘जनयुद्धको पहिलो सैनिक तालिम सिरानचोकमा दिएको ठाउँ पनि । पछि फेरि पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई चुनाव जितेर अर्थमन्त्री भएको तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर पनि यही’, प्रचण्डले थपे, ‘गोरखा जिल्ला मेरा लागि ऐतिहासिक जिल्ला हो यहाँ आउँदा म कता आएँ ? भन्ने लागेकै छैन ।’

उनले गोरखाबाट चुनाव लड्दा आफ्नै परिचित ठाउँ र जनताको बीचमा आएको महसुस भएको बताए । त्यस्तै उनले रोल्पा, काठमाडौं, सिराहा र चितवनबाट चुनाव लडेको भन्दै यसरी घुम्दै चुनाव लड्ने आफू पहिलो व्यक्ति भएको बताए । उनले अहिले गोरखामा चुनाव लड्दा गौरव लागेको पनि बताए । उनले गठबन्धनका तर्फबाट आफू साझा उम्मेदवार गोरखा २ मा बनेको भन्दै अब आर्थिक विकास र समृद्धिका लागि एकताबद्ध भएर नयाँ क्रान्तिको रोडम्याप गोरखाबाटै कोर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७