फेसबुक साथीको उपहारमा लोभिँदा ८० लाख ठगिए एक महिला


१ कार्तिक २०७४, बुधबार
facebook
काठमाडौं : असारमा एक महिलालाई डेभिड हरिसनको नाममा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । विदेशी नागरिकको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकारिन् । तिनै व्यक्तिसँग साथी बन्दा ती महिलाको ८० लाख रुपैयाँ गुमेको छ ।
facebook

ती व्यक्तिले अाफु धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए । नियमित च्याट हुन थाल्यो । उनले लाखौँको गहना र डलर पठाइदिने आश्वासन दिए । उनी पनि लोभिइन् । डेभिडले आफूले किनेको उपहारको फोटो खिचेर म्यासेन्जरमा पठाए ।

त्यसको केही दिनमा भारतबाट उनलाई फोन आयो । करोड रुपैयाँभन्दा धेरैको गहना र डलर आएको तथा त्यसलाई पास गर्न राजस्व लाग्ने भन्दै पैसा माग्न थालियो । नेपाली नागरिककै नाममा पैसा आइएमई गर्न लगाइयो । पैसा नपुगेको भन्दै पटक–पटक पैसा थप्न लगाइयो ।

त्यसरी उनले ८० लाख रुपैयाँ बुझाइन्, तर त्यो महँगो उपहार आएन । फेसबुकका साथी डेभिडसँग कुरा गरिन् । उनले आफूले पठाएको, तर भारतमा के भएको थाहा नभएको बताए । त्यसपछि मात्र उनले आफू ठगिएको चाल पाइन् अनि प्रहरीमा गइन् ।

त्यसरी ठगी गर्ने तीन युवकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको छ । सिआइबीले मोरङका प्रदीप सुब्बा, बूढानीलकण्ठका सन्तोष बस्नेत र पवन न्यौपानेलाई पक्राउ गरेको हो ।

उनीहरूले विदेशी युवकको नाममा फेसबुक अकाउन्ट खोल्ने, नेपाली महिलालाई साथी बनाई उपहार पठाएको भन्दै राजस्वबापत भन्दै पैसा मागेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

सिआइबीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार सो समूहले हालसम्म दुई महिलालाई ठगी गरेको खुलेको छ । उनीहरूले एक महिलासँग ८० तथा अर्काेसँग २५ लाख रुपैयाँ ठगी गरेका थिए ।

दुई करोडको सामान आएको र त्यसका लागि मनी ट्रान्सफरमार्फत पैसा पठाइदिन लगाएर ठगी गरेका हुन् । तर, ठगी गर्ने गिरोहकै सदस्यले भारतबाट उनीहरूलाई फोन गर्थे ।

उक्त पैसा उनीहरूले पवन न्यौपाने र सन्तोष बस्नेतले विभिन्न नाममा नक्कली नागरिकता बनाएर बुझ्ने गर्थे । पवन आइएमईमा काम गर्ने व्यक्ति हुन् । उनीहरूले सुब्बाको आग्रहमा आपूmहरूले आइएमईमार्फत पैसा बुझेको बताएपछि सुब्बा पक्राउ परेका हुन् ।

गिरोहका केही सदस्य भारतमा रहेको प्रहरीले जनाएको छ । फेसबुकमा चिनेको व्यक्तिको महँगो उपहारको लोभमा दर्जनौँ नेपाली महिला ठगिएका छन् । त्यस्तो गिरोहले महिलालाई लक्षित गरी ठगी गर्दै आएका छन् । पक्राउ परेकालाई ठगीमुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सेनाका सिपाही पनि ठगिए
फेसबुकमै चिनेको व्यक्तिलाई विश्वास गर्दा नेपाली सेनामा कार्यरत जवान अमृत दाहाल पनि ठगिएका छन् । मिरावल विल्सन नाममा व्यक्तिसँग उनी फेसबुकका साथी भएका थिए ।

ती व्यक्तिले आफू अफगानिस्तानमा कार्यरत अमेरिकन आर्मी भएको र अमेरिकामा होमल्यान्ड सेक्युरिटीमा जागिर लगाइदिने आश्वासन दिएर तीन लाख ८९ हजार रुपैयाँ ठगी गरेका हुन् ।

नाइजेयिन युवकद्वय डउग्ला अमोबी ओकोरोइगे र जुलिसय फेसट्युस चिजेक्यूले दाहाललाई ठगी गरेका हुन् । उनीहरूलाई महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको छ ।

ठगीमा सहयोग गर्ने स्नेहा श्रेष्ठ र केशव गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ट्रेकिङ एजेन्सी चलाउने मिङमार लामाको इमेल ह्याक गरी विदेशीहरूले उनको लागि पठाएको पैसा आफूहरूले लिएका थिए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७