परराष्ट्र मन्त्रालयलाई भीम रावलको प्रश्न : सीमानामा ज्यादती हुँदा किन मौन ?


१२ कार्तिक २०७९, शनिबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले सीमानामा भारतले ज्यादती गर्दा पनि परराष्ट्र मन्त्रालय मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतले सडक निर्माणका क्रममा विष्फोट गर्दा खसेको ढुङ्गाले लागेर नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नुपर्ने नेता रावलको माग छ ।

नेता रावलले शनिबार सामाजिक सञ्जालबाट दार्चुला घटनाको विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्ने भन्दै उक्त टिप्पणी लेखेका हुन् ।

‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विष्फोटको ढुङ्गाले लागेर ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ । १४ वर्षीया सरीना महरा घाइते भएकी छन्,’ उनले प्रश्न गरेका छन्, ‘सीमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विष्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो ।

उक्त घटनाको नेपालले विरोध गर्नुपर्ने एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माग गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विषयमा बोल्नुपर्ने माग गरेका छन् । भारतीय एसएसबीले महाकाली नदी तर्ने क्रममा तुइन काट्दा जयसिंह धामी गतविर्ष बगेर बेपत्ता भएका थिए ।

दार्चुलामा भएको घटनाको बारेमा परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा केही बोलेको छैन । उक्त घटनाको सामाजिक संजाललगायतमा विरोध भइरहेको छ र सरकारले यस घटनाका विषयमा बोल्नुपर्ने र विरोध जनाउनुपर्ने माग भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७