भोजपुर प्रदेशसभामा एक पुराना, तीन नयाँ अनुहार


३० कार्तिक २०७९, बुधबार
Sherdhan Rai Sudhan Kirati

भोजपुर । आसन्न प्रदेशसभा निर्वाचनका लागि भोजपुरमा एक जना नयाँ र तीन जना पुराना अनुहार चुनावी प्रतिस्पर्धामा छन् ।
भोजपुरको प्रदेशसभा निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)का उम्मेदवार बीचमा प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धन दलले प्रदेशसभा १ मा प्रदेश–१ का मुख्यमन्त्री तथा समाजवादीका सचिव राजेन्द्रकुमार राईलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरिबहादुर राईलाई उम्मेदवार बनाएको छ । मुख्यमन्त्री राई अघिल्लो पटक पनि निर्वाचित प्रदेश सांसद छन् भने हरिबहादुर राई नयाँ उम्मेदवार हुन् ।

यस्तै प्रदेशसभा २ तर्फका दुवै उम्मेदवार नयाँ छन् । सत्ता गठबन्धनका उम्मेदवार विनोद वान्तवा कांग्रेसका जिल्ला सभापति पनि छन् भने एमालेका उम्मेदवार खडगबहादुर कार्की प्रदेश कमिटी सदस्य छन् । विगतमा माओवादी केन्द्रमा आवद्ध कार्की नेकपा विभाजनपछि पुनः एमालेमै बसेका थिए ।

२०७४ सालको प्रदेशसभा १ मा अहिलेका मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भएका थिए भने प्रदेशसभा २ बाट पूर्व मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए । सत्ता गठबन्धन र एमाले दुवै पक्षका उम्मेदवारले आफू विजयी हुने दाबी गरिरहेका छन् । प्रतिनिधिसभाका लागि भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराँती र एमालेका तर्फबाट एमालेका स्थायी कमिटी सदस्य शेरधन राई प्रतिस्पर्धामा देखिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार जिल्लाको कूल ८१ वटा वडामध्ये प्रदेशसभा १ मा ४० र प्रदेशसभा २ मा ४१ वडा पर्छन् । जिल्लामा कूल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा १ मा ६४ हजार दुई सय ३७ र प्रदेशसभा २ मा ६९ हजार एक सय ४३ मतदाता छन् ।

निर्वाचनका लागि चार सय ५८ नेपाल प्रहरी, नौ सय १० म्यादी प्रहरी र आवश्यकताअनुसार सशस्त्र र नेपाली सेना परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । जिल्लामा सतासी वटा मतदानस्थल कायम गरिएको छ । यहाँ दुई अस्थायीसहित एक सय ५५ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७