बागलुङबाट को–को पुग्लान् प्रदेशसभामा ?


३० कार्तिक २०७९, बुधबार
Baglung Pradesh sabha

बागलुङ । संविधानले निदृष्ट गरे बमोजिम दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा संगै प्रदेशसभा सदस्यको चुनाव आइतबार हुँदैछ । प्रदेशसभाका चार सिटका लागि यहाँ १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् । मतदान नजिकिँदै गर्दा चुनाव कस्ले जित्ला भन्ने चासो र विभिन्न आँकलन भइरहेका छन् ।

चुनावमा मुख्य प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार देखिएका छन् । साना दल र स्वतन्त्र उम्मेवार पनि प्रदेशसभामा पुग्नका लागि चुनावी प्रतिस्पर्धामा छन् । बागलुङ–१ (१) को चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेका हीराबहादुर केसी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । उम्मेदवारहरु आ–आफ्ना प्रतिवद्धत सहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले आफूलाई लामो राजनीतिक जीवन गुजारेर आएको, नागरिकका दुःखसुखमा सहयात्री बनेकाले मतदाताले पत्याउने विश्वास राखेका छन् । विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा विगतमा पु¥याएको योगदानका लागि पनि मतदाताले आफूलाई रोज्ने उनको भनाइ छ । सोही क्षेत्रमा विसं २०७४ को निर्वाचनमा थापा तत्कालीन वामगठबन्धनका उम्मेदवार इन्द्रलाल सापकोटासँग पराजित भएका थिए ।

एमालेका सापकोटाले १७ हजार नौ सय १५ मत ल्याउँदा थापाको ११ हजार नौ सय ८९ मत पाउनुभएको थियो । २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको सापकोटालाई साथ थियो भने अहिले थापालाई छ । एमालेका उम्मेदवार केसीले जिल्लालाई विकास र समृद्धिको मार्गमा अघि बढाउन, समाज र संस्कृतिको विज्ञानसम्मत विकास गर्न चाहिने नीति तथा कार्यक्रमको खाकासहित आफू चुनावमा होमिएको बताए ।

‘जिल्लावासीलाई सुख, समृद्धि, न्याय र समानताको अनुभूति दिलाउने गरी नेतृत्व प्रदान गर्नका लागि मेरो उम्मेदवारी हो’, उनले भने, ‘मतदाताले पनि प्रदेशसभामा सही भूमिका खेल्न सक्ने, कार्यक्षमता भएको राजनीतिक नेतृत्व खोजिरहनु भएको छ, म त्यसका लागि योग्य छु ।’ केसीले पनि आफूले जित्ने मुख्य आधारमा रुपमा एमालेको सङ्गठनलाई नै अघि सारे । बागलुङ नगरपालिकाका– ११ र काठेखोलाका आठ गरी १९ वडा समेटिएको यस क्षेत्रमा एमालेको जनमत पनि कमजोर छैन ।

एमाले जिल्ला अध्यक्ष केसी विसं २०७० को संविधानसभा दोस्रो चुनावमा बागलुङ–१ मा पराजित भएका थिए । अहिलेको चुनाव जित्नुपर्ने दबाबमा उनी छने । केसीकासामु पाँच दलीय गठबन्धनको चुनौती खडा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि यही क्षेत्रबाट उम्मेदवार छन् । यस क्षेत्रमा ५० हजार पाँच सय ८० मतदाता छन् ।

बागलुङ–१ (२) मा कुनैताकाका राजनीतिक सहयोद्धा नै अहिले एकार्काविरुद्ध चुनावी मैदानमा छन् । कांग्रेस त्यागेर एमालेबाट उम्मेदवार बनेका नवराज पौडेलले गठबन्धनका उम्मेदवार डिल्लीराम सुवेदीलाई चुनौती दिएका छन् । पौडेलले जिल्लाको दक्षिण भेग पूर्वाधार र मानव विकासका दृष्टिले पछाडि परेकाले त्यहाँको समग्र विकास अभियानको अगुवाई गर्ने प्रतिबद्धता जनाए ।

कांग्रेस उम्मेदवार सुवेदीले यो निर्वाचनलाई राजनीतिक दल र नेताको अग्निपरीक्षाका रुपमा लिए । ‘विगतमा विकास र सुशासन दिन्छु भनेर चुनावमा गएका दलहरुका लागि यो अग्निपरीक्षा हो, नेताहरुलाई दण्डित गर्ने कि पुरस्कृत गर्ने जिम्मा मतदाताको हातमा छ’, उनले भने ।

सुवेदीले जितेर गएपछि जिल्लाको विकास, निर्माणदेखि नागरिकको आवाजलाई प्रदेशसभामा पु¥याउन सक्दो भूमिका खेल्ने बताए । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधैँ मूलधारको राजनीतिमा आएका उनी नेपाली कांग्रेसका कान्छा उम्मेदवारमध्येमा पर्छन् । सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा पनि उम्मेदवार छन् । बागलुङ–१ (२) ले जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा १२, १३ र १४ लाई समेट्छ । सो क्षेत्रका ४६ हजार ८६ मतदाता छन् ।

विस २०७४ को चुनावमा त्यहाँ राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी भएका थिए । तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनाव लडेका थापाले १५ हजार छ सय ३६ र कांग्रेसका प्रकाश शर्मा पौडेल नौ हजार ९४ मत ल्याएका थिए । अहिले चुनावी समीकरण बदलिएको छ । त्यसबेला वामगठबन्धनमा रहेका जनमोर्चा र नेकपा (माओवादी केन्द्र) कांग्रेससँगको मोर्चामा छन् भने एमाले एक्लै प्रतिस्पर्धामा उत्रेको छ । नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी समेत एमालेविरुद्धको गठबन्धनमा सामेल छन् ।

बागलुङ–२ (१) को चुनाव पनि रोचक हुने देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचन वाम गठबन्धन संग एक्लै सामना गर्नुपरेका कारण २०७४ र विसं २०७६ को उपचुनावमा बागलुङ–२ (२) बाट पराजित हुनुपरेको थियो । बदलिएको चुनावी समीकरणबीच शेरचन पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ (१) बाट प्रदेशसभा छिर्ने दाउमा छन् ।

अघिल्ला चुनावमा बागलुङ–२ (२) बाट चुनाव लडेका उनले यसपाली क्षेत्र (१) रोजेका हुन् । विसं २०७४ को चुनावमा शेरचन वामगठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग पराजित भएका थिए । घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार छ सय २४ मत ल्याएका थिए । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मंसिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई पराजित गरेका थिए ।

अहिलेको चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुने देखिएको छ । एमालेको समर्थनमा लालटिन चिन्ह लिएर उम्मेदवार बनेका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् । गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिका सो क्षेत्रमा पर्छन् । त्यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन् । बागलुङ–२ (२) मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवार नयाँ छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने कांग्रेसका द्रोर्ण कुँवर र एमालेका लक्ष्मण पुन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् ।

सो क्षेत्रमा विसं २०७४ को चुनाव र त्यसपछिको उपचुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बिजयी भएका थिए । ४१ हजार दुई सय २७ मतदाता रहेको बागलुङ–२ (२) मा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्छ । जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७