‘निर्वाचित हुनु परीक्षा दिन जान लागेको मात्र हो, अहिल्यै विजय र्‍याली गर्न चाहन्नँ’


८ मंसिर २०७९, बिहीबार
rabi lamichhane

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् ।

जितपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले निर्वाचित हुनु कुनै जित नभएको भन्दै आफूले अहिले नै विजय र्‍याली समेत नगर्ने बताएका हुन् ।

‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,’ उनले लेखेका छन्, ‘म आजैदेखि जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ ।’

विजय र्‍यालीको सट्टा लामिछानेले धन्यवाद सभा आयोजना गर्ने भएका छन् । उनका अनुसार भरतपुर–१० गेस्टहाउस चौरमा आज ३ बजे, ईच्छाकामना गाउँपालिका कार्यालयअगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा भोलि ११ बजे तथा सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा भोलि दिउँसो ३ बजे धन्यवाद सभा आयोजना गरिने छ । साथै उनले धन्यवाद सभामा आउने कसैलाई पनि फूलमाला, अबिर र खादा नल्याउन आह्वान गरेका छन् ।

‘एउटा अनुरोध, कृपया त्यहाँ (धन्यवाद सभा) आँउदा मेरा लागि फूलमाला, अबिर र खादा केही पनि नल्याउनु होला । म आजबाटै काम थाल्दैछु । मेरो सभा हुने ठाँउहरुमा दुई वटा बाकस हुनेछन् । एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझावपेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रष्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला । माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७