नियमित सेवामा फर्किए डा. अधिकारी


१३ मंसिर २०७९, मंगलवार
Bhojraj Adhikari

चितवन । मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गरेका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए ।

भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए ।

उनले भने, ‘अब म नियमित काममा फर्किएको छु ।’ स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उनले जानकारी दिए ।

गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा. अधिकारीको छ । उनले भने, ‘विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।’ यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उनले बताए ।

उनले भने, ‘क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।’ पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले बताए । अपाङ्गता कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७