सर्वोच्चको गेटमा रातो रङ्ग फ्याँक्ने विनु यादव को हुन् ?


१३ मंसिर २०७९, मंगलवार
protest Supreme court 7

काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वाेच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् ।

काका ससुराबाट बलात्कारको प्रयास भएको र पतिबाट आफूमाथि हिंसा भएकाकाले त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओर्लिने वित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वाेच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

fight against women violence

आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’
उनले भने जस्तै ३१ औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् ।

न्यायकै लागि सर्वाेच्च अदालत पुगेकी सिरहाकी विनु प्रहरी नियन्त्रणमा परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि उनले चिच्याउँदै भनिन्, ‘मलाई न्याय चाहियो ।’ उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् ।

केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास समेत गरेकी उनले आफूमाथि पतिसहित घरपरिवारबाट शारीरिक र मानसिक रुपमा हिंसा भएको बताउँदै आएकी छन् । काका ससुरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उनको आरोप छ । विनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७