संसदीय दलमा देउवालाई ‘टक्कर’ दिने गगन–विश्वप्रकाशको तयारी, चुनावको सम्भावना


१४ मंसिर २०७९, बुधबार
154 Shares
Deuwa Gagan Bishwa prakash

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थियो । तर, यस पटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ सिट जितेर पहिलो दल बनेको थियो । हालै सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्ने निश्चित छ । यद्यपि अझै प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छैन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हालसम्म कांग्रेसले प्रदेशमा एक सय पाँच सिट जितेको छ । जुन अघिल्लो निर्वाचन भन्दा दोब्बरले बढी हो । प्रतिनिधिसभातर्फ कांग्रेसले अहिलेसम्म ५४ स्थानमा जितेको छ । एकमा अग्रता लिइरहेको छ । बाजुरा र स्याङ्जा २ मा मतगणना आजबाट शुुरु हुने भएको छ । जसमा कांग्रेसका दुई उम्मेदवार छन् । यदि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारले जिते भने कांग्रेसको ५६÷५७ सिट पुग्छ ।

समानुपातिकतर्फ कांग्रेसले २६ लाख कटाउने देखिएको छ । समानुपातिकतर्फ कांग्रेसले कम्तीमा ३२ सांसद पाउने देखिएको छ । त्यसो भएमा कांग्रेसको ८७ /८८ सांसद पुग्ने छ । कांग्रेसले ८८ सिट ल्यायो र एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यही भएर कांग्रेसमा यस पटक नयाँ पुस्ताले सरकारको नेतृत्व लिनुपर्ने आवाज प्रबल रूपमा उठेको छ ।

jagdamba.cement

यदि नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी नछाडेमा कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेतिर परिस्थिति अघि बढेको छ । कांग्रेसले ८८ सिट पाएमा संसदीय दलको नेता बन्न ४५ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा नाम हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छ ।

कांग्रेस महामन्त्री गगन थापालाई दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले प्रयत्न गर्ने बताइसकेका छन् । यसले गर्दा प्रदीप पौडेललगायत देउवा समूहका रहेका धेरै युवा सांसदले गगनलाई साथ दिने सम्भावना धेरै छ । कांग्रेस महामन्त्री थापाले शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसकेका छन् । अर्का महामन्त्री शर्माले पनि सर्वसम्मत नभए निर्वाचनबाटै दलको नेता चुनिने घोषणा गरिसकेकाले यस पटक कांग्रेस संसदीय दलको नेतामा चुनाव हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७