समानुपातिकको अन्तिम मत मरिणाम आज आउँदै, १३ लाख मत खेर


२० मंसिर २०७९, मंगलवार
Mat gadana Rupandehi scaled
फाइल फोटो

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज (मंगलबार) सकिने भएको छ । मंगलबार बिहान ०५ः५० सम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ ।

जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ ।
समानुपातिकतर्फ १३ लाख मत खेर
यसैबीच प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको छ । दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिने छ ।

तर ३ प्रतिशतभन्दा कम मत ल्याउने दलका लागि सिट बाँडफाँट हुँदैन । त्यसकारण ती दलहरूको मत खेर जाने भएको हो । प्रतिनिधिसभाको चुनावका लागि देशभरिबाट समानुपातिकमा करिब १ करोड ११ लाख मत खसेको निर्वाचन आयोगको अनुमानित तथ्यांक छ । आयोगले हालसम्म यकिन तथ्यांक सार्वजनिक गरिसकेको छैन । समानुपातिकतर्फ खसेको मतमध्ये करिब ६ लाख मत बदर हुने देखिएको छ ।

निर्वाचन आयोगको सोमबार बेलुकीसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ १ करोड ४ लाख ३० हजार बढी मत सदर भएको छ । जसमध्ये ४० वटा राजनीतिक दलले प्राप्त गरेको मतको कुनै अर्थ नहुने भएको छ । देशभरिबाट ११० वटा सिटका लागि मतदाताले विभिन्न राजनीतिक दललाई मत दिएका थिए । मतदाताले सात वटा दल बाहेककालाई दिएको मत खेर गएको हो ।

हालसम्म सातवटा राजनीतिक दल मात्रै सदर मतको ३ प्रतिशत प्राप्त गर्न सफल भएका छन् । कुल सदर मतको ३ प्रतिशत ल्याउने दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी हुन्।

यी सात राजनीतिक दलले अब राष्ट्रिय दलको मान्यता पाउनुका साथै समानुपातिकतर्फबाट ११० मध्ये भागबन्डामा परेको सिट प्राप्त गर्नेछन् । समानुपातिक प्रणालीमा देशको भू–भागलाई एक निर्वाचन क्षेत्र मानिन्छ । मतदाताले दललाई दिएको मत कुल सदर मतमध्ये दलको सिट संख्या निर्धारण हुनेछ ।

मतगणना अन्तिम चरणमा पुगेको बेला सबैभन्दा धेरै नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी केन्द्रले सिट पाउने छन् । यसअघि २०७४ सालमा पनि यी दल नै पहिलो, दोस्रो र तेस्रोको सूचीमा थिए । हालसम्मको मत परिणामअनुसार एमालेले करिब ३४ सिट, कांग्रेसको ३२, माओवादी केन्द्रले १४, राप्रपाले १७, रास्वपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट हासिल गर्ने अनुमान छ । अन्तिम परिणाम आएपछि समानुपातिक पद्धतिको सूत्रअनुसार एक–दुई सिट तलमाथि पर्न सक्ने देखिन्छ ।

समानुपातिकमा दलहरूले ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनुपर्ने भएकाले अधिकांश महिला निर्वाचित हुने देखिएको छ । संघीय संसद्मा ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य बाध्यता दलहरूलाई छ । प्रत्येक दलले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा जुनसुकै माध्यमबाट एक तिहाइ महिलाको उपस्थिति बनाउनु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७