दार्चुला घटनाबारे सरकारले भारतलाई पठायो कूटनीतिक नोट


२० मंसिर २०७९, मंगलवार
pararastra

काठमाडौं । दार्चुलामा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चार नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा नेपाल सरकारले भारत सरकारलाई मंगलबार कूटनीतिक नोट पठाएको छ ।

आइतबार नेपाली र भारतीय नागरिकबीच नदीको धार नेपाली बस्तीतिर फर्काएको विषयमा भएको विवादले झडपको रूप लिएको थियो । जसमा सीमा पारिबाट आएको ढुंगा लागेर विद्यालयमा खेलिरहेका चार जना बालक घाइते भएका थिए ।
घटनाको दुई दिनपछि परराष्ट्र मन्त्रालयले दार्चुलामा भएको भारतीय ज्यादतीबारे भारतलाई कूटनीतिक नोट पठाएको हो । कूटनीतिक नोट काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार लैनचौरस्थित भारतीय दूतावासमार्फत उक्त कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालय सूत्रले जानकारी दिएको छ । उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीन वटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ ।

जसमध्ये दुवै देशको सीमानदी महाकाली जारी एकपक्षीय तटबन्ध निर्माण रोक्न भनिएको छ । त्यसै गरी सीमाक्षेत्रमा यस्ता खालका निर्माण गर्दा पहिले नेपालसँग सहमति लिन र सल्लाह गर्न पनि कूटनीतिक नोटमार्फत भनिएको छ । तेस्रो बुँदामा सीमाक्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन भारतीय पक्ष सचेत हुनुपर्ने कुरा पनि नेपालले उठाएको छ ।

यसअघि सोमबार गृह मन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो । त्यही प्रतिवेदन प्राप्त भएपछि परराष्ट्रले भारतलाई कूटनीतिक नोट लेखेको हो ।
यसअघि, मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आफूहरूले कूटनीतिक नोट पठाउने तयारी गरिरहेको जानकारी दिएकी थिइन् । गृह मन्त्रालयले सोमबार घटनाबारे जानकारी दिँदै र स्थायी समाधान खोज्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७