निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी


२३ मंसिर २०७९, शुक्रबार
cholendra shamsher jabara

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन निष्प्रभावी भएको भनि संसदका महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासले संवैधानिक हैसियत नभएको महासचिवको त्यो पत्र कार्यान्वयन नगर्न-नगराउन आज शुक्रवार अन्तरिम आदेश जारी गरेको हो ।

गएको बुधवार संसद्का महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका थिए ।

गएको वर्ष फागुन १ गते सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरालाई पदमा फर्कन मिल्ने गरी गौतमले पत्र दिएका थिए । संसद् सचिवालयको पत्रका आधारमा सर्वोच्च अदालत जान लागेका जबरा सरकारले सुरक्षाकर्मी नपठाएपछि सरकारी निवासमै रोकिएका थिए ।

नयाँ संसद्को चुनाव सकिएपछि यसअघिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै जबराले महासचिवलाई निवेदन लेखेर महाअभियोग प्रस्ताव निष्क्रिय हुनेसम्बन्धी पत्र मागेका थिए । जबराको मागअनुसार गौतमले संसद्को कार्यकाल सकिएको र महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए ।

महासचिव गौतमले पत्र दिएपछि त्यसका विरुद्ध गएको बुधवार सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ जनाले रिट दायर गरेका थिए । त्यही रिटमा निवेदकतर्फको बहस सकेर संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७