बेथानचोक बस दुर्घटना : क्षतिपूर्ति माग गर्दै घाइते र मृतकका आफन्तले गरे यातायात अवरुद्ध


२८ मंसिर २०७९, बुधबार
bethan chowk

काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र घाइतेले पनौतीबाट चल्ने सार्वजनिक यातायात अवरुद्ध गरेका छन् । उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै पनौतीस्थित ठाडो बाटोमा सडक अवरुद्ध गरेका हुन् ।

अहिले मृतकका आफन्त र यातायात व्यवसायीबीच छलफल भइरहेको पनौती प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक रुपेश श्रेष्ठले जानकारी दिए । निजी सवारी र रिजर्भका गाडी भने चलिरहेको श्रेष्ठले बताए । मंगलबार साँझ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा करिब ६ः१५ बजे बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो ।

बेथानचोक गाउँ पालिकाको वडा नं. ५ च्याल्टी भन्ने ठाउँबाट छेवार मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बनेपा–११, सल्लेबाट बेथानचोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएर फर्किने क्रममा बस दुर्घटना भएको हो ।

पल्टिएर बसले थिचेर १७ जनाले ज्यान गुमाएको स्थानीयको भनाइ छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । नेपाल प्रहरी र नेपाली सेनाको टोली, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा पुगी घाइतेहरुको उद्धार गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७