चार हजार २८५ उम्मेदवारको धरौटी जफत

प्रतिनिधि सभामा ९१ र प्रदेश सभामा दुई सय महिला निर्वाचित


२८ मंसिर २०७९, बुधबार
dinesh

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देशभरबाट ४,२८५ उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगले आज (बुधबार) पत्रकार सम्मेलन गरी निर्वाचन परिणाम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७६.०४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए ।

निर्वाचन सम्बन्धी ऐनअनुसार, सदर मतको कम्तिमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । त्यसअनुसार, प्रतिनिधि सभा र प्रदेश सभाका चार हजार २८५ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ ११ हजार ५४२ उम्मेदवार थिए ।

आयोगका अनुसार प्रतिनिधि सभाका एक हजार ९६१ जनाको उम्मेदवारी जफत भएको हो । त्यस्तै, प्रदेश सभातर्फ दुई हजार ३२४ उम्मेदवारको धरौटी जफत भएको छ । यस्तै प्रतिनिधि सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाएका ४० दलको धरौटी जफत भएको छ । निर्वाचन ऐनअनुसार, समानुपातिकतर्फ उम्मेदवारी दिएका दलले प्रत्यक्षतर्फ कम्तिमा एक सीट जित्नु पर्छ ।

प्रतिनिधि सभामा समानुपातिकतर्फ बन्द ४७ दलले बन्द सूची बुझाएका थिए । त्यसमध्ये सात दल मात्रै प्रत्यक्षतर्फ जित हासिल गरेका हुन् । त्यस्तै, प्रदेश सभामा पनि प्रत्यक्षतर्फ कम्तिमा एक सीट नजित्ने दलको दरौटी जफत भएको छ । आयोगका अनुसार प्रदेश–१ मा ३०, मधेशमा २०, बागमतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ दलको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभामा २७५ र प्रदेश सभामा ५५० उम्मेदवार निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभामा १८५ पुरुष र ९१ महिला आएका छन् । त्यस्तै, प्रदेश सभामा ३५० पुरुष र दुई सय महिला निर्वाचत भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७