माओवादी वैठकको निष्कर्ष : प्रधानमन्त्रीसहित सबै पदमा प्याकेजमै सहमति खोजिने

‘नयाँ राष्ट्रपति दलहरुबाटै बन्छन्’


३ पुष २०७९, आईतवार
Prachanda1671360838

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनभित्र सबै पदहरुको प्याकेजमा सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले गठबन्धनमा सबै पदहरुको प्याकेजमा सहमति गर्नुपर्ने निष्कर्ष निकाले एक नेताले जानकारी दिएका छन् ।

‘एक एक पदको कुरा नगर्ने, जति पनि पद छन्, सबैको प्याकेजमा बाँडफाँट गर्नुपर्छ भन्ने निष्कर्ष हाम्रो छ,’ उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै शक्तिशाली पदहरु एकै पटक टुंगो लगाउनु पर्छ ।’ बैठकमा अध्यक्ष प्रचण्डले दलहरुबीच भइरहेको संवादका विषयमा ब्रिफिङ गरेका थिए । ‘अहिलेसम्म सरकार निर्माणका विषयमा विभिन्न तवरमा छलफल भइरहे पनि टुंगिएको छैन,’ प्रचण्डको भनाई उधृत गर्दै अर्का नेताले भने, ‘हामीले बाँडफाँडको मोडेल एउटा एउटा नगरी प्याकेजमै गर्नुपर्छ भनेका छौं ।’

अध्यक्ष प्रचण्डले सांसदहरुको सपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । उनले सांसदहरुको सपथ ग्रहण नगर्दा नै सरकार गठन गर्नु सही नभएको निष्कर्ष निकालिएको बताए । ‘विगतमा सरकार गठन गर्दा सांसदहरुको बैठक राख्दा सांसदहरुको बैठक नहुँदै सरकार गठनको नजिर जस्तो बन्न गएको छ । त्यो सही होइन्’, उनले भने । उनले निर्वाचन आयोगले राष्ट्रपति कहाँ र राष्ट्रपति कार्यलयबाट निर्वाचित सांसदहरुको नाम गइसकेपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनु सुल्टो हुने बताए ।

अध्यक्ष प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने बताएका छन् । उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताएका छन् । ‘राष्ट्रपतिबाट गैरराजनीतिक क्षेत्रबाट होइन, राजनीतिक दलबाटै हुन्छ’, प्रचण्डको भनाइबारे एक पदाधिकराीले भने, ‘तर, संविधानमा प्रतिवद्ध मान्छेलाई बनाउनुपर्छ भन्नेमा मुख्य दलहरुबीच करिब–करिब सहमति छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७