प्रचण्ड–नेपालबीच भेटवार्ता, कांग्रेस बाहेकको सत्ता समीकरणबारे छलफल


४ पुष २०७९, सोमबार
Prachanda Madhav

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्ता तीब्र बनाएका छन् । उनले आज (सोमबार) सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटमा आगामी सत्ता समीकरणका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । गत शनिबार प्रचण्डले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए । त्यसपछि प्रधानमन्त्री समेत सशंकीत बनेका छन् ।

नेपाली कांग्रेसको आइतबारको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । यद्यपी प्रचण्डले आफू प्रधानमन्त्री बन्ने प्रयासमा गृहकार्य गरिरहेका छन् । उनले सत्ता साझेदार कांग्रेस बाहेकका राजनीतिक शक्तिहरूसँग मिलेर सरकार गठनको प्रयास गरिरहेका छन् ।

प्रचण्डले आइतबार नै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग सत्ता गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेका थिए । नेपाल निवास कोटेश्वरमा आज दुई नेताबीचको भेटमा कांग्रेस बाहेकको सत्ता समीकरणबारे पनि छलफल भएको स्रोतले जनाएको छ । कांग्रेस उपसभापति खड्कासँगको भेटमा प्रचण्डले राखेको अडान र नेपालसँगको आजको भेटले राजनीतिक समीकरण फरक कोणबाट अघि बढिरहेको संकेत मिलेको नेताहरूले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातदिनको समयसीमा राख्दै सरकार गठन गर्न आह्वान गरेपछि शीर्ष नेताको राजनीतिक दौडधुप बढेको हो । वर्तमान सत्ता गठबन्धले यही गठबन्धनलाई निरन्तरता दिने समझदारीसहित समीकरण मिलाउने गृहकार्य गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले फरक रुपले भेटलाई जोड दिएका छन् । यता विभिन्न सार्वजनिक कार्यक्रममा भने प्रचण्डले आफू प्रधानमन्त्री बन्ने होडमा नरहेको बताउँदै जिम्मेवारी आए पछि नहट्ने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७