फ्रान्सका फरवार्ड बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


५ पुष २०७९, मंगलवार
FkWgCOQX0AA3AAM1671503061

काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतार विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको एक दिनपछि सोमबार बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले आफ्नो ३५औं जन्म दिनका दिन यस्तो घोषणा गरेका हुन् ।

९७ खेलमा ३७ पटक गोल गरेका बेन्जेमाले यस वर्ष बालोन डी’ अर अवार्ड जित्न सफल भएका थिए । बेन्जेमाले कतारमा फ्रान्सका लागि आक्रमण पंक्तिको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । तर, प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिन अभ्यासमा तिघ्रामा चोट लागेपछि बेन्जेमाले विश्वकप गुमाएका थिए । बेन्जेमाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विगतमा गरेको प्रयास र गल्तीहरूका कारण आज म जहाँ छु । यसमा मलाई गर्व छ । मैले मेरो कथा लेखें र हाम्रो कथा समाप्त हुँदैछ ।’

बेन्जेमाले २००७ मा फ्रान्सबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिप र २०१४ को विश्वकप खेले । तर, ‘ब्ल्याकमेल काण्ड’ का कारण बेन्जेमाले २०१८ को विश्वकप गुमाएका थिए ।
बेन्जेमालाई गत वर्ष युरो २०२० का लागि राष्ट्रिय टिममा फिर्ता बोलाइएको थियो । युरो २०२० मा डिडियर डेसचम्प्सको टोली अन्तिम–१६ बाटै बाहिरिएको थियो । बेन्जेमाले अक्टोबर २०२१ मा फ्रान्सलाई यूईएफए नेसन्स लिग जिताउन मद्दत गरे ।

बेन्जेमाले गत सिजन रियल मड्रिडको उत्कृष्ट अभियानको आनन्द उठाएका थिए । उनले सबै प्रतियोगिता गरी ४६ खेलमा ४४ गोल गरेका थिए । बेन्जेमाकै प्रेरणादायी प्रदर्शनमा रियालले गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।

फ्रान्सको राष्ट्रिय टोलीमा फर्किएपछि बेन्जेमाले १६ खेलमा १० गोल गरिसकेका थिए । तर, चोटका कारण बेन्जेमा फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने अभियानबाट बाहिर बस्न बाध्य भएका थिए । आइतबार सम्पन्न फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७