सरकार गठनको कसरत : बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल जारी


८ पुष २०७९, शुक्रबार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । सरकार गठनका विषयमा छलफल गर्न उनी बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पदका लागि निर्णायक वार्ता गर्न उनी बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको छ । दुई जनाबीच छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुने उनले जानकारी दिए ।

देउवा र प्रचण्ड आफ्नै नेतृत्वमा सरकार गठनका लागि कसरतमा छन् । प्रधानमन्त्री पद नपाए गठबन्धन छाड्ने धम्की दिएका प्रचण्डले प्रधानमन्त्री देउवासँग निर्णायक वार्ता गर्ने माओवादीका एक नेताले दावी गरे । प्रतिनिधिसभाको तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार ५ बजेसम्म सरकारमा दाबी गर्न दलहरूलाई आह्वान गरेकी छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दलहरूलाई दिएकी थिइन् ।

शुक्रबार बिहान मात्रै प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री पद नपाए गठबन्धन छोड्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै प्रचण्डले चिनियाँ दूतावासका कार्यबाहक राजदूतसँग भेटवार्ता गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिमचिम बढाएका प्रचण्डको चिनियाँ पक्षसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्डले आजै प्रभु साहलगायत नेताहरूसँग पनि सत्ता समीकरणबारे छलफल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७