चितवन कांग्रेसको दावी : रवि लामिछानेलाई उपनिर्वाचनमा सहजै जित्छौं


१७ माघ २०७९, मंगलवार
RajesworKhana1 20230131172049 scaled

काठमाडौं । नेपाली कांग्रेस चितवनका जिल्ला सभापित राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनाव लड्न आए सहजै पराजित गरिने दावी गरेका छन् ।

खनालले एक महिनामा सरकारको उपप्रधान तथा गृहमन्त्रीको पदमा बसेपछि रविको नागरिकता र पासपोर्टलगायत विवादका बारेमा जनता स्पष्ट भइसकेको भन्दै चितवन–२ मा कांग्रेसको पक्षमा जनलहर झन बलियो भएको दाबी गरे ।
‘चितवन यस्तो ठाउँ हो, जहाँ राजनीति उत्तारचढाव आइराख्छ । ह्वात्तै आउने र केहीबेरमै सेलाउने व्यक्तिहरूलाई पनि चितवनका जनताले जिताए । तर अबको उपनिर्वाचनमा जनता सोंचेर मात्र मत दिने मनस्थितिमा पुगेका छन् । मंसिर ४ को कुरा भनेको त्यतिबेला रविको हावा चलेको थियो । अब उनी उम्मेदवारको रूपमा उभिने हो भने कांग्रेसले सहज जित निकाल्न सक्छ,’ उनले भने ।

कांग्रेसभित्रको आन्तरिक किचलोकै कारण रविले जितेको बताउँदै उनले थपे, ‘कांग्रेसभित्रको दोषारोपणका कारण रविजीले चुनाव जित्नुभयो । तर जितेर आएको एक महिनासम्म पनि जनताले कुनै राहतको महसुस गर्नै पाएनन् । जसलाई उहाँ यसअघि आरोप लगाउनु हुन्थ्यो, आज आफू त्यही भूमिकामा पुग्नुभयो । सत्तालिप्त मात्र रहेको जनताले देखिसकेका छन्। यसको प्रतिफल उपनिर्वाचनमा अवश्य देखिन्छ ।’

उनले अहिलेको गठबन्धन दुर्घटनाग्रस्त हुने खतरामा बढेको समेत बताए । उनले नागरिकता र राहदानी विवाद कायमै रहँदा पनि रविले गृहमन्त्रीको घुर्की लगाउनु सत्तालिप्साको पराकाष्ठा भएको आरोप लगाए । ’मुलुकको लागि केही गरौं भन्ने त छँदै छै न। खाली व्यक्तिगत लाभमा मात्र छन्,’ उनले भने ।

उनले चितवनको परिवेश र धरातल नबुझिकनै टिकट वितरण गरिएको आरोप लगाए । मंसिर ४ को निर्वाचनमा रविले ४९ हजार ३ सय मतले विजयी हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७