राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चुनिनु पर्छ : महासचिव गुरुङ


७ फाल्गुन २०७९, आईतवार
Dev Gurung kaski scaled

कास्की । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चुनिनु पर्ने बताएका छन् । आज (आइतबार) पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले राष्ट्रियता र संविधानको रक्षा गर्न साझारुपमा राष्ट्रपति आउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति दल विशेष चयन नहुने बताउँदै उनले साझा उम्मेदवार खडा गर्न सत्ता र प्रतिपक्ष दल दुवै उत्तिकै जिम्मेवारी रहेको बताएका छन् । ‘हामीले को राष्ट्रपति बनाउने भन्ने विषयमा बोलेका छैनौं‚’ महासचिव गुरुङले भने, ‘नीतिगत र वैचारिक कुरा उठाएका छौं । यसमा आजसम्मका उपलब्धि संस्थागत गर्न सक्ने सक्षम पात्र साझा रुपमा उठाउने छौं ।’ उनले संविधानमाथि प्रहार गर्न विभिन्न शक्तिको चलखेल बढेको बताउँदै संविधान र राष्ट्रियता रक्षाका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका थिए ।

उम्मेदवारी दिन्छौं भन्ने दलले यस विषयमा एक पटक सोच्नुपर्ने उनको भनाइ छ । ‘मुलुकको अस्मिताबारे सोच्नुपर्ने बेला आएको छ‚’ उनले भने, ‘संविधानमाथि खतरा पैदा हुन सक्ने भएकाले संविधान र राष्ट्रियता जोखिममा छ । यसका लागि राष्ट्रिय सहमतिको अभियान चलाउनु पर्छ । यो अभियान माओवादी केन्द्रले चलाएको छ । आर्थिक समृद्धि र मुलुकको रक्षाका लागि पनि सहमति र सहकार्य अहिलेको आवश्यकता हो ।’

गुरुङले राष्ट्रपतिका लागि सहमतिको विकल्प नरहेको बताएका छन् । ‘मुलुकको परिवर्तनका लागि आत्मसात् गर्दै सबै दलको सहमति हुनुपर्छ’, उनले भने, ‘संविधानको संरक्षण, गणतन्त्रको संरक्षण, हालसम्मका उपलब्धिको संरक्षण गर्नुपर्ने खालको हुनुप¥यो ।’ गत पुस १० मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि पुस २६ मा राष्ट्रिय सहमतिकै आधारमा विश्वासको मत प्राप्त गरेको बताउँदै उनले विगतका घटनाक्रमबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७