सन्दीपको मुद्दा तत्काल टुङ्गो लगाउन जिल्ला अदालतलाई सर्वोच्चको आदेश


१५ फाल्गुन २०७९, सोमबार
sandeep lamichhane 20190401072744

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘फास्ट ट्रयाक’ बाट निरन्तर सुनुवाइ गर्न जिल्ला अदालत काठमाडौंलाई आदेश गरेको छ ।

सन्दीप नेपाललाई प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय खेलाडी भएकाले उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ गरी तत्काल टुंग्याउन आदेश गरिएको छ । आज (सोमबार) न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो । यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो । यी दुवै निवेदनमाथि संयुक्त सुनुवाइपछि लामिछानेको पक्षमा आदेश भएको छ । उच्च अदालतले विदेश जान नपाउने सर्तसहित लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेश समेत जान पाउने अनुमति दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७