राजावादीप्रति प्रचण्डको टिप्पणी : भूतप्रेतहरु बाटोमा निस्किँदैमा केहि फरक पर्दैन

‘माओवादीहरू एकताबद्ध हुनुपर्ने आवश्यकताबोध गरिएको छ’


२१ फाल्गुन २०७९, आईतवार
prachanda 2

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षड्यन्त्र भइरहेको उनले आरोप लगाएका छन् ।

सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा काठमाडौंमा प्रधानमन्त्री दाहालले भने, ‘माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्वहरू निकै कमजोर छन्, माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’

‘हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भएपनि तिनीहरू एक ठाउँमा हुँदा त्यो जबरजस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका षडयन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन् । हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखिएकै कुरा हो,’ उनले भने, ‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकताबोध गरिएको छ, त्यो एउटा शक्ति हो ।’

वर्तमान संविधानमाथि हमला भइरहेको पनि दाहालको भनाइ छ । सार्वभौम जनताको संविधानका विरुद्धमा षडयन्त्र भइरहेको बताउँदै उनले सबै माओवादी धारका पार्टी एकजुट हुनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले केही समययता भइरहेको राजावादीहरुको प्रदर्शनले जनयुद्धका उपलब्धीहरु नगुम्ने बताएका छन् ।

‘भूतप्रेतहरु बाटामा निस्किँदै केही फरक पर्दैन । उनीहरु उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन’, उनले थपे, ‘सरकारको तर्फबाट बेपत्ता र साहदतहरुलाई सम्मान गर्ने प्रक्रिया अघि बढ्दा तिनीहरु अहिले तर्सिएका छन् ।’ कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालगायतका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७