उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ, नत्र उम्मेदवारी दर्ता गर्दैनौं : आयोग


२६ फाल्गुन २०७९, शुक्रबार
Uparastra

काठमाडौं । चौंथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । बिहीबार भएको मतदानमा उनी राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

खर्स आर्य समुदायका पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार पुरुष नै हुन पाउने कि नपाउने ? भन्ने बहस र चर्चा उठेको छ । नेपालको संविधानको धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरक समूदायको हुने विषयमा उल्लेख गरिएको छ, ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ ।’

election commission AukpJf8rVA

उपराष्ट्रपतिको उमेदवारी मनोयन शनिबार (भोलि) हुँदैछ । त्यसको पूर्वसन्ध्यामा आयोगले आज उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । जसमा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को उमेदवारी दर्ता गर्न निर्देशन दिइएको छ ।

‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ,” प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा खस आर्यतर्फबाट पुरुष निर्वाचित भएकाले उक्त समूदाय बाहेकको महिला वा अन्य (तेस्रो लिङ्गी) लाई उपराष्ट्रपतिको उमेदवार बनाउन निर्देशन दिइएको बताउँछन् । ‘लिङ्ग महिला पुरुष र अन्य गरी तीन किसिमका हुन्छन् । खस आर्यबाट पुरुष राष्ट्रपति भइसकेकाले खस आर्यबाहेकका महिला वा अन्य उपराष्ट्रपतिको उमेदवार बन्न पाउँछन्’, थपलियाले भने, ‘पुरुषले उमेदवारी दिनै पाउँदैनन् ।’

उनले कुनै पनि हालतमा पुरुष उम्मेदवार बन्न नपाउने बताएका छन् । सत्तारुढ आठ दलीय गठबन्धनले जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ । आयोगको निर्णयसँगै मधेशी समुदायबाट उमेदवारी दिने तयारी गरेका यादवको उमेदवारी दर्ता नहुने देखिएको छ ।

पुरुष उमेदवारी दिन आए के गर्ने भनेर निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराए आयोगले उमेदवारी दर्ता नगर्न निर्देशन दिने अर्का पदाधिकारीले बताए । ‘यो नीतिगत निर्णय हो । निर्वाचन अधिकृतको कार्यालयले पुरुष उमेदवारी आए के गर्ने भनेर पठाए आयोगले दर्ता नगर्न पत्र लेख्छ’, ती पदाधिकारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७