आठ महिनामा चार मुद्दा फैसला


८ चैत्र २०७९, बुधबार
bharatpur mahanagar 1

चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चार वटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चार वटाको फैसला भएको हो ।

भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकार भन्दा बाहिर भएकाले अदालत पठाइएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका मुद्दा महानगरपालिकाको न्यायिक इजलासमा आउने गरेका छन् ।

जसअन्तर्गत साँध सिमाना, बालीनाली क्षति, बाटो निकास, मानाचामल र घरबहालसम्बन्धी मुद्दा यस इजलासले हेर्ने गर्दछ । सापकोटाका अनुसार मेलमिलापका लागि २२ वटा ठाडो उजुरी दर्ता भएका छन् । जसमध्ये १४ वटा मुद्दा उजुरीको मेलमिलाप भइसकेको छ भने आठवटा छलफलका क्रममा छन् । महानगरमा आउने मुद्दा र उजुरीमा अधिकांश साँध–सीमानाका हुने गरेको उनले बताए ।

भरतपुर महानगरको न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले आफ्नो पालिकाभित्र दुवै पक्षको हित हुने गरी फैसला हुने गरेको बताए । हरेक वडा कार्यालयमा मेलमिलाप समिति रहेको बताउँदै उनले सुरुआती समयमा वडामा विवाद मिलाउने प्रयास हुने र वडामा मिल्न नसकेमा महानगरको मेलमिलाप समितिमा आउने बताए ।

महानगरको मेलमिलाप समितिबाट समेत मेलमिलाप हुन नसकेको मुद्दामात्र न्यायिक समितिमा आउने उनको भनाइ छ । न्यायिक समितिले पहिलो पक्ष र दोस्रो पक्षलाई बोलाएर छलफल गरी दुवै पक्षको हित हुने गरी निर्णय गर्ने उनले बताए । न्यायिक समितिबाट समेत समस्या समाधान हुन नसकेको खण्डमा मात्रै अदालत पठाइने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७