सन्दीप लामिछानेविरुद्धको मुद्दामा भोलि अन्तिम सुनुवाइ


१२ चैत्र २०७९, आईतवार
sandeep lamichhane T4beIm2Z5F

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि भोलि (सोमबार) पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेसी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको रिटमा सुनुवाइ भएको थियो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ । यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतले आदेश गरेको हो ।

यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाई तत्काल टुंग्याउने सम्भावना छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो ।

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै सन्दीप दुवईमा क्रिकेट खेलेर फर्किएका थिए ।

सन्दीपविरुद्ध गएको भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन् । त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए । उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर मुद्दाको अनुसन्धान गरेको थियो । उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७