मधेस सरकारका एमाले मन्त्रीले दिए राजीनामा


२१ चैत्र २०७९, मंगलवार
emale mantri

जनकपुरधाम । नेकपा एमालेका चार मन्त्रीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज (मंगलबार) अपराह्न राजीनामा बुझाएका छन् । मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री यादवले आग्रह गरेपछि उनीहरुले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार राति मुख्यमन्त्री यादवले एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई फोन गरेर सरकारबाट राजीनामाका लागि आग्रह गरेका थिए । संघीय सरकारमा गठबन्धन फेरिए लगत्तै मधेस सरकारबाट पनि एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेशको संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यही निर्णयको आधारमा एमालेका चारै जना मन्त्रीले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई मंगलबार अपराह्नसम्म राजीनामा बुझाउन भनेका थिए । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री थिए । उनीहरूले राजीनामा नगरे मुख्यमन्त्री यादव उनीहरूलाई पदमुक्त गर्ने तयारीमा थिए ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधन प्रसाख सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए ।
एमालेकी प्रदेश सांसद शारदादेवी थापाले मुख्यमन्त्री यादवले राजीनामा मागेकाले पार्टीका मन्त्रीहरुले राजीनामा बुझाएको बताइन् । ‘मुख्यमन्त्रीले फोन गरेर राजीनामा माग गरेको जानकारी दिँदै एमाले सांसद थापाले भनिन, ‘हामीले छलफल गरेर राजीनामा बुझाइदिएका हौं ।’

एमालेका मन्त्री हटाएसँगै मुख्यमन्त्री यादवले ती मन्त्रालयमा कांग्रेसलाई ल्याउने तयारी गरेका छन् । यद्यपि कसलाई कुन मन्त्रालयको जिम्मा दिने भन्नेबारे यकिन भइसकेको छैन । मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने तयारी भइरहेको छ । जनमत पार्टीबाट मधेस प्रदेश सरकारमा दुई जना मन्त्री छन् । बसन्तप्रसाद कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री छन् ।

मधेस प्रदेशसभामा १०७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एक जना सांसद छन् ।

एमाले र जनमत मधेस सरकारबाट हटे पनि मुख्यमन्त्री यादवलाई सरकार टिकाइराख्न बहुमत भने पुग्छ । कांग्रेसको २२, जसपाको १६, लोसपाको ९, माओवादीको ९, नेकपा(एस)को ७, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्तिसहित ३ सांसद र स्वतन्त्र सांसद ६ जना छन् । मुख्यमन्त्री यादवसँग एक जना स्वतन्त्र सांसदवाहेक ५ जनाको समर्थन छ । त्यो जोड्दा मुख्यमन्त्री यादवसँग ७१ सांसदको समर्थन पुग्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७