नेपाल–बंगलादेश सुरुङमार्गबाट जोडिन्छ : उद्योग मन्त्री यादव


१६ बैशाख २०७५, आईतवार
matrika yadav 1

काठमाडौं, १६ बैसाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङ मार्ग बनाएर अन्तरदेशीय सडक सञ्जालमा जोडिने बताएका छन् ।matrika yadav 1

दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आइतवार उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए । नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भएको बताएका छन् ।

उनले भने, ‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका छौं, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ ।’ नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रहिआएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे । मन्त्री यादवले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रह समेत गरे ।

कार्यक्रममा दक्षिण एशियाली मुलुकका १५० जना साना तथा मझौला व्यवसायीको सहभागिता छ । मञ्चले दक्षिण एशियामा व्यापार सहजीकरण तथा विस्तार, पारवहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ । एकदिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७