चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा


२४ चैत्र २०७९, शुक्रबार
ai

काठमाडौँ । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए । ‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने, ‘कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौँ । यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ ।’ चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ ।

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छन् । छायाङ्कन अवधिभर एकै परिवार भएर समय बिताएको उनी बताउँछिन् । ‘हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ । यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिस गरिएको छ । यो केवल मनोरञ्जन मात्र होइन’, अभिनेत्री पन्तले भनिन्, ‘मेरो जीवनसँग पनि केही मेल खान्छ । जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु ।’

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए । ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, नेपालले भने, ‘दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनु हुनेछ ।’

निर्माता श्रीधर पौडेलले यस अगाडि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७