बाटो खुलेपछि खच्चड बेचेर ट्याक्टरबाट व्यापार


५ बैशाख २०८०, मंगलवार
Khachhad manang 1 scaled
फाइल फोटो

जाजरकोट । डोेल्पा त्रिपुरासुन्दरी–५ का ललित घर्ती दुई वर्षअघि नौवटा खच्चडको सहयोगमा जाजरकोटको तल्लुबाट दुनैसम्म खाद्यान्नलगायत वस्तु ढुवानी गर्थे । दिनरात खच्चडसँग हिँडेर सदरमुकाम पुग्ने घर्ती अहिले ट्याक्टर मालिक भएका छन् ।

उनले छ महिनाअघि मात्रै खच्चड बिक्री गरी ट्याक्टर किनेका थिए । अहिले तल्लुबाट सदरमुकामसम्म खच्चड हिँड्ने बाटोमा उनले ट्याक्टर चलाउँछन् । ‘ट्याक्टर चलाउन थालेपछि तल्लुबाट दुनै एकै दिनमा पुगिन्छ’, घर्तीले भने । दिनमा दुई पटकसम्म दुनै–तल्लु आउने जाने गर्दा आम्दानी पनि राम्रो भएको छ भने ढुवानी गर्न निकै सहज भएको उनले बताए ।

अहिले निर्माणका सामग्रीदेखि अन्य दैनिक उपभोग्य वस्तु ढुवानी गर्नका लागि घर्तीको मोबाइलमा दैनिक फोन आउने गर्दछ । ढुवानीका काम पहिलेभन्दा बढी पाउन थालेको उनको भनाइ थियो । जाजरकोट सदरमुकामबाट तल्लुसम्म दुईतर्फी रूपमा ठूला यातायातका साधन सञ्चालन भइरहेका छन् । हिउँदयाममा भने ट्याक्टर, ट्रक एकतर्फी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने यातायात व्यवसायी तिलक पुनले बताए । उनका अनुसार दुईतर्फी यातायात सञ्चालनका लागि बाटो साँघुरो भएकाले समस्या हुँदै आएको हो ।

ठूलिभेरी नगरपालिका–७ रत्नबहादुर भण्डारीले १६ वटा खच्चड बिक्री गरेर ट्याक्टर खरिद गरेको बताए । ‘गाउँगाउँमा सडक पुगिसकेको छ । अधिकांश ठाउँमा ट्याक्टरबाट सामान ढुवानी हुन्छ । माग पनि बढेकाले पहिलाको तुलनामा आम्दानी पनि राम्रो हुन्छ’, उनले भने । खच्चडका लाइन लाग्ने तल्लो तथा मध्ये डोल्पामा अहिले सवारी साधनका आवाज बज्ने गरेको छ ।

खच्चडबाट ढुवानी गर्दा महँगो पर्ने दैनिक उपभोग्य तथा निर्माणका सामग्री अहिले सवारीसाधनमार्फत ढुवानी गर्दा सस्तो भएको त्रिपुरासुन्दरी नगरपालिका बगरका रामचन्द्र न्यौपानेले बताए । उपल्लो डोल्पामा भने अझै पनि घोडा, खच्चड र चौँरीको भरमा ढुवानी हुँदै आएको छ । डोल्पोबुद्ध, शे फोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका साथै काइकेमा घोडा, खच्चड र चौँरीकै भरमा ढुवानी हुँदै आएको छ । त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकाले भने एम्बुलेन्स सेवा समेत सञ्चालन गरेका छन् ।

जुफाल विमानस्थलसँगको निर्भरता कम हुँदै गएको छ । जिल्लामा खाद्यान्न आपूर्तिलगायत अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता आएको छ । जिल्लामा उत्पादन भएको जडीबुटी, खाद्यान्नबाली, फलफूललगायत वस्तु बाहिर जिल्लामा निर्यात गर्न थालिएको यहाँका किसानले बताएका छन् । पालिकाले समेत आन्तरिक सडक निर्माणलाई तीव्रता दिएको छ ।

अस्थायी रुट निर्माण गरेर सवारी साधन चलाउने गरिएको भन्दै स्थायी रूपमा सडक निर्माणलाई तीव्रता दिइएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । उनले भने, ‘त्रिवेणीबाट नर्क–भालुलेखहुँदै जुम्ला जोड्ने सडक निर्माण जारी छ । अन्य वडामा सडक निर्माणलाई तीव्रता दिएका छौँ । सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी काम अगाडि बढेको छ ।’ उनले भेरी करिडोरमा जाजरकोटको पासागाडबाट डोल्पाको दुनैसम्म यातायातका साधन सञ्चालनमा भएकाले आवागमन सहज भएको बताए । नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडी नेतृत्वको टिमले झण्डै १४ वर्ष लगाएर उक्त क्षेत्रमा अस्थायी सडक निर्माण गरेको थियो ।

सेनाले सरकारलाई सडक हस्तान्तरण गरेसँगै अहिले जाजरकोटको पासागाडदेखि तल्लुसम्म सडक कालोपत्र गरिँदै छ भने बेलिब्रिज पुल निर्माण भइरहेको छ । पक्की पुल निर्माणमा भने निर्माण व्यवसायीले ढिलासुस्ती गरेकाले समस्या भएको बताएको छ । पक्की पुलको ठेक्का क्याराभान निर्माण कम्पनीले लिएको छ । अहिले बेलिब्रिजबाट यातायातका साधन भेरी नदी पार गर्दछन् । पूर्वी जाजरकोटका साथै तल्लो र मध्य डोल्पामा समेत यातायातको सहज पहुँचले गर्दा दैनिक यहाँका सर्वसाधारणको भान्सा पनि सस्तो भएको छ ।

ठेक्काको काम समयमा नगर्दा समस्या

भेरी करिडोरअन्तर्गत आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का लिएका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।

नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला र नलगाडमा क्याराभान कम्पनी निर्माण जिम्मा लिए पनि काम गरेको छैन । जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीको पुल क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ । दुई वर्षसम्म ठेक्का होल्ड गरेर उक्त कम्पनीले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको हो ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको रु १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले रु १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो । सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यी ठेक्का अहिले वर्ष दिनदेखि अलपत्र परेका छन् ।

पुलको निर्माणको डिजाइन स्टिमेट मन्त्रालयमा गत असोजदेखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले पुल निर्माणको लागत अनुमानसम्बन्धी प्रतिवेदन (डिजाइन स्टिमेट) स्वीकृत गर्न पुल महाशाखालाई ताकेता गर्दा पनि सुनुवाइ नभएको आरोप लगाए । अहिले भेरी नदीका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुल निर्माण गरेर यातायातका साधन सञ्चालन भइरहेका छन् ।

त्यस्तै जाजरकोटको तल्लु बगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर विसं २०७९ माघ २६ मा वाइपीएमआर जेभी चितवनले ठेक्का पाएको थियो । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टिमेटको काम भइरहेको जनाइएको छ । यसको अनुगमन तथा मूल्याङ््कन सुर्खेतस्थित पुल विभागले हेर्दै आएको छ । छ महिनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम सुरु गर्नुपर्ने बताइएको छ । डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म दुई सय ३१ दशमलव पाँच किलोमिटर लम्बाइ रहेको छ । भेरी करिडोरको जम्मा लम्बाई तीन सय १० किलोमिटर छ । अहिले पासागाड–रिम्नाहुँदै तल्लु बगरसम्म कालोपत्रको काम सुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ । यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा बर्सेनि सास्ती हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७