फूलैफूलले सजियो धोबी खोला कोरिडोर


६ बैशाख २०८०, बुधबार
Dhobikhola coridor 2

काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।

यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन् । रङ्गीविरङ्गी फूल फुलेर करिडोरको शोभा बढाउनाका साथै खोलाको सौन्दर्य पनि मनमोहक देखिन्छ । कोरिडोरमा लगाइएका बिरुवाले शोभामात्र नदिएर वातावरणलाई समेत सफा राखेको छ ।

धोबीखोला कोरिडोर केही वर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो । हिजोआज त्यही सडकमा दिनहुँ यात्र गर्ने यात्रुहरुलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन् । कालोपुलमा फूलसँग तस्बीर लिँदै गरेकी स्थानीय उषा बुढाथोकी बिहानको समय र साँझपख केही छिन फूलसँगै बसिरहुँ जस्तो लाग्ने गरेको बताउँछिन् ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई धोबीखोला कोरिडोरमा लगाइएका बिरुवाहरु संरक्षण गर्न नगरपालिकाले चार जनाको समिति बनाएर रेखदेख गर्दै आएको जानकारी दिए । उनका अनुसार कोरिडोर वरपरका बिरुवामा पानी हाल्ने, कटिङ गर्ने तथा हेरचाह गर्ने काम समितिले गर्दै आएको छ ।

त्यसैगरी रातोपुल नजिकै बस्ने सुस्मिता फुयाँलले कोरिडोरमा ढकमक्क फुलेको फूलले धोबीखोलाको रुप फेरिएको चर्चा गर्छिन् । उनी भन्छिन्, ‘कुनै समय फोहोरले भरिएको धोबीखोला परिवर्तन होला जस्तो लागेको थिएन । दुर्गन्धित त अहिले पनि उत्तिकै छ तर फूलहरु फुलेका कारण अहिले धोबीखोला रमणीय बनेको देख्न सकिन्छ ।’

काठमाडौँ महानगरअन्तर्गत धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले बिरुवा संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धर जानकारी दिन्छन् । आगामी दिनमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनामार्फत नयाँ बिरुवा रोप्ने तयारी रहेको उनको भनाइ छ ।

अहिले धोबीखोलमा फूल मात्र फूलेका छैनन् विभिन्न औषधिमूलक जडीबुटी पनि उपलब्ध छन् । बढी अक्सिजन उपलब्ध गराउने वर पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटी समेत कोरिडोरमा छन् ।
बूढानीलकण्ठ नगरपालिका–१३ भद्रकाली मन्दिरदेखि काठमाडौँ महानगरपालिका पर्ने भत्केको पुल, रातोपुल हुँदै बानेश्वरको बुद्धनगर हुँदै बगेको धोबीखोला करिडोरअन्तर्गत करिडोर सडकमा अहिले मनै लोभ्याउने फूलहरु फुलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७