प्रसारण लाइनको क्षमता नपुग्दा भारतबाट विजुली आयातमा समस्या भयो : कुलमान घिसिङ


१० बैशाख २०८०, आईतवार
Kulman Ghising

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा विद्युत लोड कटौती गरिएको स्वीकारेको छ । बिना पूर्व सूचना लगातार विद्युत आपूर्ति बन्द गरिँदा उद्योगी–व्यवसायीले गुनासो गर्दै आएका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्ति गर्न समस्या भएको जानकारी गराएका छन् । ‘सुक्खा याममा हामीलाई पुग्ने गरी उत्पादन हुँदैन । अझ गत वर्षको भन्दा त राम्रो अवस्थामा छौं । गत वर्ष धेरै अप्ठ्यारो थियो,’ आज (आइतबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सुनाए, ‘अहिले केही उद्योगी साथीहरु लाइन काटियो भनेर उजुरी गरिरहनु भएको छ । केही प्राविधिक कारणले पनि त्यस्तो भएको हो ।’

अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौती गरेको छ । घिसिङले यो छोटो समयको समस्या भएको जनाउँदै उनले १०÷१५ दिनमा समाधान हुने दावी गरे । आगामी वर्ष यस्तो समस्या नहुने गरी काम गरिरहेको उनले बताएका छन् । पर्याप्त पूर्वाधार नहुँदा अहिले भारतबाट आयात गरेर समेत उद्योगहरुमा पु¥याउन नसकेको उनले बताए ।

उनका अनुसार पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको थियो । ‘अहिले समस्या समाधान भइसकेको छ । हिजोदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको छ,’ घिसिङले भने । विहान बेलुकी पीक आवरमा भने दिन नसकिएको उनले स्वीकार गरे ।

उनका अनुसार गत वर्षको हिउँदकोभन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म सुक्खाका कारण उत्पादन घटेको छ । निजी क्षेत्रको उत्पादन भने १५ प्रतिशतको हाराहारीमा छ । हिउँ र पानी नपरेकाले यो उत्पादन घटेको हो । काबेलीमा करिडोरमा निजी क्षेत्रका करिब २०० मेगावाट जडित क्षमता छ । तर केहि दिन पहिले ३०-३२ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको थियो । हिजो पानी परेका कारण करिब ४५ मेगावाटसम्म उत्पादन भइरहेको छ ।

अहिले नेपालको जडित क्षमता करिब २५०० मेगावाट पुगेको छ । पीकडिमाण्ड करिब १७५० मेगावाट पुगेको छ । औसत विद्युतको माग करिब १३०० मेगावाट रहेको छ । भने बेस लोड १२०० मेगावाट रहेको छ । स्थानीय माग धान्नका लागि ५०० मेगावाट भारतबाट आयात भइरहेको छ । पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको छ । प्राधिकरणले अहिले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्छ । जसका कारण लोड बढेको हो । प्राधिकरणका अनुसार गर्मीमा तराईमा माग बढ्छ । भने सिंचाईका लागि समेत ठूलो मात्रामा विद्युत खपत हुन्छ । करिब २०० मेगावाट सिंचाइको लोड रहेको छ ।

विद्युतको माग पुरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना (१०० मेगावाट) २४ सै घण्टा चलाइरहेको घिसिङले बताएका छन् । उनका अनुसार करिब २० दिनका लागि पुग्ने पानी कुलेखानीको जलाशयमा छ । अहिले समस्या भए पनि १०-१५ दिनपछि फालाफाल हुनेछ । यो वर्ष करिब २८०० मेगावाट विद्युत प्रणालीमा पुग्दैछ। नेपालको पीक डिमाण्ड २००० मेगावाटसम्म पुग्ने अनुमान छ । यसो हुदा ८०० मेगावाट विद्युत निर्यात गर्नुपर्छ । त्यसका लागि प्रस्ताव पठाइसकेको घिसिङले बताएका छन् । करिब साढे ४ सय मेगावाटका लागि भारतले निर्यातको अनुमती दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७