एसीसी प्रिमियर कप : बहराइनलाई हराउँदै यूएई सेमिफाइनलमा


१३ बैशाख २०८०, बुधबार
uae

काठमाडौँ । यूएई (दुबई) एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज (बुधबार) मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको ११७ रनको सामान्य लक्ष्य यूएईले २७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेटायो । यूएईका वृत्य अरविन्दले नटआउट ६२ र रोहन मुस्तफाले नटआउट ५० रन बनाए । बहराइनका अब्दुल मजिदले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ४० ओभर ५ बलमा ११६ रन बनाउँदा अलआउट भयो । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए । यूएईका आयन अफजल खानले ४ विकेट लिँदा रोहन मुस्तफा र कार्तिक मय्यप्पनले २-२ विकेट लिए ।

यूएई समूह ’बी’ बाट सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । अब भोलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलको विजेता सेमिफाइनलमा पुग्ने अर्काे टोली बन्नेछ । यस्तै समूह ’ए’ बाट नेपाल १ खेलअघि नै सेमिफाइनल पुगिसकेको छ । यस्तै अहिले समूह ‘ए’ कै ओमान र साउदी अरेबियाबीच कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ । यस खेलको विजेता समूह ’ए’ बाट सेमिफाइनल पुग्ने अर्काे टोली बन्नेछ ।

एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७