रविलाई प्रधानमन्त्रीको आग्रह : सरकारमा आउनूस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु


१८ बैशाख २०८०, सोमबार
prachanda

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सामेल हुन आग्रह गरेका छन् । आज (सोमबार) बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन् । यसका लागि आफू जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

‘सरकारमा आउनूस्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको कुन चाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’ यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकाले समर्थन समेत फिर्ता लिने बताएका थिए ।

प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने समेत प्रचण्डको दाबी छ । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने । अहिले सरकार परिवर्तन हुने विषय पनि भ्रम मात्रै भएको प्रचण्डले दाहोर्‍याए । ‘सरकार यताउता हुन्छ भन्ने निकै ठूलो भ्रम हो । सरकार पाँच वर्ष नै चल्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७