दार्चुला हिमपहिरो अपडेट : सात जना प्रहरीको सम्पर्कमा, पाँच अझै बेपत्ता


१९ बैशाख २०८०, मंगलवार
himpahiro
फाइल फोटो

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका– १ मा मंगलबार दिउँसो गएको हिमपहिरोमा परेका सात जना सकुशल भेटिएको प्रहरीले जनाएको छ । हिमपहिरोमा परेका चार महिला र एक पुरुष भने बेपत्ता छन् ।

१२ जनामध्ये सात जना सकुशल रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । ‘यार्सागुम्बा संकलन गर्ने १२ जनाको समूह एउटै पालमुनि बस्दै आएका रहेछन् । हिमपहिरो आउने बित्तिकै सात जना भाग्न सफल भएका छन् । पाँच जना पुरिएको घटनास्थल पुगेको उद्धार टोलीले जानकारी दिएको छ,’ उनले भने ।

पुरिएकाहरुको उद्धार जारी छ । पुरिनेमा तीन जना कैलालीको बुडर र दुई जना दुहु गाउँपालिका पोक्सेका रहेका छन् । सँगै रहेका दुई जना सामान्य घाइते अवस्थामा उद्धार गरिएको सितापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो हिमपहिरो गएको खबरपछि सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपी ईश्वरीदत्त भट्टको नेतृत्वमा करिब ३० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो ।
लगातार पानी र हिउँ परेका कारण उद्दारमा कठिनाइ भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए ।

‘केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरूले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ’, डिएसपी भट्टले भने । खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए । सङ्कलक केही दिनअघि यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ उक्लिएका व्यास–१ का वडाध्यक्ष अशोक बोहराले बताए । ‘लगातार हिउँ परिरहेको थियो, सङ्कलक त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा सङ्कलन गर्न जान सकिरहेका थिएनन्’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७