हिमालयन एक्स्ट्रिम ट्रायथलन शनिबार : २२ देशका खेलाडी पोखरामा


२२ बैशाख २०८०, शुक्रबार
Marathon1683210631

पोखरा । हिमालयन एक्स्ट्राई नेपालले आयोजना गर्ने ‘हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’ को दोस्रो संस्करण वैशाख २३ गते पोखरामा हुने भएको छ ।

प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्यान्ड, ग्रिस, रुस, चेक गणतन्त्र, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्यान्डलगायतका २२ मुलुकका ३६ खेलाडीले प्रतिस्पर्धा गर्ने हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए ।

‘धेरै खेलाडी पहिलो पटक पोखरा आएका छन्’, योञ्जनले भने, ‘गत वर्ष तेस्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोस्रो पटक सहभागिताका लागि आएका छन् ।’ गत वर्ष चेक गणतन्त्रका पिटर भाव्रोशोकले तेस्रो स्थान हासिल गरेका थिए । पौडी, साइक्लिङ र उकाली ओराली दौडिनु पर्ने भएकाले निकै चुनौतीपूर्ण मानिने यस प्रतियोगितामा ३६ खेलाडी भए पनि उनीहरूको सहयोगी टोल समेत गरी ६५ जना सहभागी हुनेछन् ।

नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागीहरु ३.८ किमिपौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यसलगतै १७५ किलोमिटर साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाइडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ ।

त्यसलगतै ४३ किलोमिटर लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिब १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ ।

पोखरामा खेल पर्यटनको विकासमा सहयोग गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको योञ्जन बताउँछन् । उनी भन्छन्, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि गुणस्तरीय पर्यटकलाई बढी भन्दा बढी समय बिताउन यस्ता प्रतियोगिताले मद्दत गर्नेछ । हाम्रो इभेन्ट खेल्न आउने खेलाडीहरू दुई हप्ता यहाँ बिताउने गर्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७