कार्यविनायकमा ‘ह्यासट्याग माया’ को मुहूर्त


२३ बैशाख २०८०, शनिबार
maya

काठमाडौँ । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए ।

‘हामीले मुहूर्त गरेका हौँ । आगामी सातादेखि काठमाडौँबाट छायाङ्कन सुरु गरेर पोखरा, बर्दिया हुँदै धरानमा सक्ने योजना छ । थ्रीलर विधामा यसको प्रस्तुति रहनेछ’, कार्यकारी निर्माता पौडेलले भने । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने चलचित्रमार्फत नै गुरुङले निर्देशकको यात्रा प्रारम्भ गर्दैछन् ।

‘मैले यो कथामा काम गरेको धेरै समय भइसक्यो । निर्देशनको अध्ययनपश्चात् यही चलचित्रमार्फत दर्शकसम्म पुग्नुपर्छ भन्ने लागेको छ’, निर्देशक गुरुङले भने । शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहने छ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्ट्रक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षण समेत लिएकी थिइन् ।

‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ, चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, अभिनेत्री श्रेष्ठले भनिन् । चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७