राजेश पायल राईले पञ्चेबाजा घन्काउँदै
काठमाडौं, २४ बैसाख । गायक राजेश पायल राईलाई अधिकांश पत्रकारहरुले सोध्ने प्रश्न हो–बिहे चाहीं कहिले गर्नु हुन्छ ? पत्रकारको यो प्रश्नलाई गायक राजेश पायल राईले विभिन्न बहाना बनाउँदै टार्दै आएका छन् ।
विहेको प्रसङ्ग आउना साथ वहानाबाजी गर्दै आएका गायक राईले यहि बैसाखमा पञ्चेवाजा घन्काउँदै छन् । तर, यो वास्तविकतामा नभई उनको गायन करिअरमा मात्र हो । उनले
अभिनेता गणेश बेलवासेद्वारा एक वर्ष अगाडि घोषणा गरिएको फिल्म ‘लभ फरेभर’ को गीतमा गायिका सुरुचीसँग ‘पञ्चेवाजा घन्काउँदै बोलको गीतमा स्वर दिएका हुन् । सन्तोष श्रेष्ठको संगीत रहेको गीत बैसाख २० गते रेकर्ड गरेर गायक राईले ‘पञ्चेबाजा घन्काएका हुन् । चलचित्र निमार्णको काम पनि अघि बढिसकेको जनाइएको छ । कथा र पटकथाको काम सम्पन्न भइसकेको छ ।
फिल्मका कलाकार, छायाँकन स्थल, गीत रेकर्डिङ र प्राविधिक विषयमा धामधम काम शुरु भइसकेको बेलवासेले बताएका छन् । ‘कथा र पटकथा तयार भइसकेको छ । एउटा गीत वैशाख २० गते रेकर्ड गरिएको छ’, उनले भने, ‘कलाकारहरू कस्तो राख्ने भनेर गृहकार्यमा छौं ।’
बेलवासेले यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेका थिए । फिल्ममा लगानी राजु केसी र सुरेश हमालको हुनेछ । ‘फिल्ममा लगानी गर्न राजु केसी र सुरेश हमालले इच्छा जनाउनु भएको छ’, उनले थपे, ‘फिल्मको शुरुवाती काम अगाडि बढाइएका छौँ ।’ फिल्मलाई बेल्वासेले निर्देशन गर्ने छन् । फिल्मलाई नेपाल र भारतका मुख्य स्थानमा छायाँकन गरिने जनाइएको छ । सस्पेन्स प्रेम कथामा आधारित ‘लभ फरेभर’ मा नयाँ र पूराना कलाकारको अभिनय देख्न सकिने छ ।