७० वर्ष उमेर हदबारे ओलीको टिप्पणी : दुनियाँमा कहीँ नभएको जात्रा एमालेमा किन गर्न जरुरी छ ?


२ असार २०८०, शनिबार
KP Sharma oli

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको कारण हटाएको बताएका छन् । ७० वर्षमाथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएकाले सो उमेरहद हटाउने निर्णय गर्नुपरेको उनको स्पष्टीकरण छ ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा ओलीले उमेरहदलाई दुनियाँमा कहीँ नभएको जात्राको रुपमा टिप्पणी गरे । भने, ‘दुनियाँमा कहीँ नभएको जात्रा एमालेमा किन गर्नु जरुरी छ ? त्यही भएर हामीले छोडीदियौं ।’

कुनै पनि पार्टीमा, संसदमा यस्तो छैन । यस्तो अमेरिकामा छ ? बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ ? चीनमा छ, कहिँ छ ? चीनमा थियो, हटिसक्यो । सी जिन पिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो, हटाइसके । उहाँले ७० वर्ष पनि पार गरिसक्नुभयो

चीनलगायत दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको ओलीको भनाई छ । ओलीले भने, ‘कुनै पनि पार्टीमा, संसदमा यस्तो छैन । यस्तो अमेरिकामा छ ? बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ ? चीनमा छ, कहिँ छ ? चीनमा थियो, हटिसक्यो । सी जिन पिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो, हटाइसके । उहाँले ७० वर्ष पनि पार गरिसक्नुभयो । अनि, चीनले पनि यसलाई सच्यायो । ६५ वर्ष थियो साइप्रसमा, साइप्रसले पनि हटाइसक्यो काम लाग्ने रहेनछ भनेर ।’

उमेरहदले एमालेको प्रगतिलाई अप्ठ्यारो पारेको अध्यक्ष ओलीको भनाई छ । उनले भने, ‘हाम्रोमा हामीले राखेका थियौं, हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो र्पायो । त्यसकारण हामीले हटाउने भन्यौं ।’

उमेरहदको बिषयमा अनावश्यक विवाद नगर्न पनि उनले सचेत गराए । भने, ‘यसमा फेरि हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस् आउँदो महाधिवेशनमा । हुनुस् अध्यक्ष कसलाई मन लाग्छ, उपाध्यक्ष, महासचिव हुनुुहोस् । झन्, राम्रो भयो नि त ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लड्न पाउने भए । अनि किन आपत्ति जनाएको ?’

अध्यक्ष ओलीले यस्ता कुरामा एमाले अल्झीरहनु नहुने बताए । भने, ‘त्यसो भएर यस्ता अनावश्यक कुरामा अल्झिरहने होइन । यो नचाहिने कुरामा अल्मलिने होइन । हामी राजनीतिक भएर बुढाबुढीहरु लौरो टेकेर अघि बढ भन्छौं । केटाकेटीहरु अगाडि बढ, युवाहरु अगाडि बढ । किशोरकिशोरीहरु अगाडि बढ । अहिले जो १४ वर्षका केटाकेटी २०८४ को चुनावमा मतदाता हुन्छन् । उनीहरुलाई पनि अलमल नगराई लिएर जानुछ हामीले ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७