भोलिदेखि उपत्यकामा दुई हजार २८ शैंया निःशुल्क


१३ असार २०८०, बुधबार
Bir Hospital1646962921

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शैया निःशुल्क गरिने बताएका छन् ।

बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए । ‘कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शैंया, ट्रमा सेन्टरले एक सय ५० शैंया र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शैंया निःशुल्क गर्ने निर्णय गरेका छन्’, मन्त्री बस्नेतले भने । उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या दुई हजार २८ पुगेको छ ।

‘वीर अस्पतालले सात सय शैया र कोशी अस्पतालले तीन सय ३० शैंया निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्’, मन्त्री बस्नेतले भने । उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शैंया थप्दै जाने र ती शैंयामा उपचार पनि निःशुल्क हुने जानकारी दिए ।

शैंया निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले उक्त निर्णय सबै अस्पतालले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

निजी अस्पताल पनि जिम्मेवार भई नियम अनुसार कूल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने भन्दै मन्त्री बस्नेतले १० प्रतिशत शैया निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७