मलेसियामाथि नेपालको शानदार जित


१५ असार २०८०, शुक्रबार
nepali cricket team dX1LpWNsfS

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले शुक्रबार घरेलु टिम मलेसियाविरुद्ध ८४ रनको शानदार जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरेको हो ।

शुक्रबार बायुइमस ओभलमा नेपालले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३०.५ ओभरमा ९९ रनमै समेटियो । मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले चार विकेट लिए । सात ओभर बलिङ गरेका धामीले १४ रन खर्चिए । अभिषेक तिवारी तीन विकेट लिए । सन्तोष यादवले दुई विकेट र क्रितिक कामतले एक विकेट लिए ।

मलेसियाका मोहम्मद हाइरिलले २५ रन बनाए । कप्तान मुहम्मद आलिफले १५, मुहम्मद अक्रमले १२ र आरिएन अकिलले १० रनबाहेक मलेसियाबाट अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको थियो ।

नेपालका अशोक धामीले ५२ रन बनाए । ९१–७ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका अशोकले ३६ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्‍याएका थिए । नरेनले २९ र सुर्यान्शु कोइरालाले समान २९ रन थप्दा कृतिक कामतले १६ र दीपु कुमारले १५ रन जोडे ।

मलेसियाका हाजिक हाइकल, मुहम्मद अक्रम र मुहम्मद मुक्रीले समान दुई विकेट लिए । मोहम्मद फाथुल फात्रीले एक विकेट लिए । नेपालसँग हारका बावजुद मलेसियाले पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । मलेसियाले पहिलो खेलमा थाइल्यान्डलाई हराएको थियो । नेपालले पनि यसअघि पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले हराएको थियो ।

नेपालले अब समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, मलेसिया र थाइल्यान्ड तथा समूह ‘बी’मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७