निगमले आईओसीको सबै २४ अर्ब ऋण चुक्ता गर्‍यो, १५ दिनमै डेढ अर्ब नाफा


१७ असार २०८०, आईतवार
Nepal Oil Corporation scaled

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) को सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २४ अर्ब बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको ‘बक्यौता’ लाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । उपभोक्तालाई मूल्यमा भार पारेर निगमले अन्ततः आईओसीको सबै बक्यौता चुक्ता गरेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ब्याजवापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ, सो रकम पनि केही समयपछि भुक्तानी हुने उनले बताएका छन् ।

निगमले नेपाल सरकारबाट लिएको ६ अर्ब ३० करोड ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए । ‘सरकारको ऋण रकम किस्ता किस्तामा भुक्तानी गर्दै आएका छौं’ उनले भने ‘५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएका थियौं, सो अनुसार नै तिर्दै जानेछौं ।’

यस्तै निगमले राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण समेत तिरिसकेको जनाएको छ । यसैबीच नेपालले आयल निगम हाल पाक्षिक (१५ दिनमा) एक अर्ब ६० करोड नाफामा आर्जन गरेको छ । खासगरी खाना पकाउने एलपी ग्यासको मूल्य अत्याधिक घटेर आएपछि निगमको नाफा बढेको हो । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिएका छन् । त्यस्तै मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा आन्तरिकतर्फ ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ । निगमलाई यसअघि ग्यासमा रहेको नोक्सानी समेत हटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७