दौड प्रतियोगितामा धर्म र कल्पना पहिलो


२१ असार २०८०, बिहीबार
1688617529 2 1 1200x560 1

काठमाडौँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान पाँच किलोमिटर शुभकामना दौड प्रतियोगितामा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । धर्म पुरुषतर्फ र कल्पना महिलातर्फको दौडमा पहिलो भएका हुन् ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायत देशमा म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेण्डमा पूरा गरे । सोही स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो र राजेश महर्जन तेस्रो भए ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालले आज संयुक्त रुपमा आयोजना गरेको उक्त दौड प्रतियोगितामा कल्पनाले निर्धारित दूरी २८ मिनेट ४० सेकेण्डमा तय गरिन् । याङ्दी लामा शेर्पा दोस्रो र सीता रिमाल तेस्रो स्थानमा रहे । बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा प्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२औंँ संस्करणको यस वर्षको साङ्गीतिक प्रस्तुति अगष्टमा इङ्ल्यान्डको लण्डनमा हुँदैछ । १०औँ संस्करणको प्रस्तुति अमेरिकामा भएको थियो ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफै पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुङ्गिएको थियो ।

विजेतालाई एथ्लेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल सङ्घकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमका बीच पुस्कार प्रदान गरे । यसअघि दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरले दौड प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७