घुस लिएको अभियोगमा ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ विरुद्ध मुद्दा दायर


२१ असार २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७