पहिरोजन्य जोखिम व्यवस्थापन गर्न जोड, वैशाखयता १७ जनाको मृत्यु


२१ असार २०८०, बिहीबार
pahiro Baglung
फाइल फोटो

काठमाडौं । वर्षाको आँकलन प्रभावकारी भए पनि त्यसबाट उत्पन्न हुने परिस्थिति र पहिरोको जोखिम आँकलन गर्न अझै प्रभावकारी काम हुन सकेको छैन । कतिपय क्षेत्रमा भएका आँकलन र जोखिम व्यवस्थापनमा पनि प्रभावकारी काम हुन नसकेको विज्ञले बताएका छन् । धेरैजसो स्थानीय पालिकाको जिम्मेवारी बढी भए पनि पालिकामा पहिरोसम्बन्धी गर्नुपर्ने काम न्यून भएको विज्ञले पनि जनाएका छन् । पालिकामा अझै पनि प्रविधि, सीप, स्रोत साधन र अध्ययन अनुसन्धानको कमी रहेको छ ।

पहिरोजन्य जोखिम आँकलन सम्बन्धमा अध्ययन तथा नतिजामा अझै एकरुपता हुन नसक्दा बर्सेनि जोखिम निम्तिरहेको उनीहरुले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम आँकलनलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । सोही सन्दर्भमा विज्ञबाट राय सुझाव लिने काम भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आँकलन विधि तथा कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको जानकारी दिँदै छलफल र संवादबाट प्राप्त सुझावले कार्यदललाई निष्कर्षमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।

प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले पहिरोजन्य जोखिम आँकलन गर्दा ‘स्केल’, ‘रिजोलुसन’ र उद्देश्यमा रहेका कमीको पहिचान गर्न जरुरी रहेको र त्यसका लागि विज्ञको सहयोगको खाँचो हुने औँल्याए । सो सम्बन्धमा प्राधिकरणले हालै पहिरोजन्य जोखिमका विषयमा नेपालमा हालसम्म भएका कार्य, अध्ययन तथा नतिजा, यससम्बन्धी अपुग, थप अध्ययनको आवश्यकता र दिशानिर्देशका बारेमा सम्बन्धित निकायका अधिकारी एवं विज्ञसँग राय लिएको छ ।

जलस्रोत अनुसन्धान एवं विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर जिओलोजिष्ट डा. अनन्तमानसिंह प्रधानले रियल टाइम डाटाको नेपालमा कमी रहको र अध्ययन अनुसन्धानलाई प्राथमिकता नदिँदा पनि समस्या देखिएको बताए ।

उनले अब यो जिल्ला वा प्रदेशमा जोखिम छ भनेर मात्रै हुँदैन, यो जिल्लाको फलानो पालिकाको फलानो वडाको फलानो ठाउँमा जोखिम छ भन्ने आँकलन जरुरी रहेको औँल्याए । प्राधिकरणलाई सुझाव दिँदै फोरम फर इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलप्मेन्टका कार्यकारी निर्देशक डा. सञ्जय देवकोटाले हरेक वर्ष जमिन तासेको तासै छ, त्यहाँ पहिरो नगएर के जान्छ भन्दै सडकमार्ग बनाउँदा पनि विकल्पको खोजी जरुरी हुने बताए ।

त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सहप्राध्यापक डा. रञ्जनकुमार दाहालले नेपालमा पहिरोजन्य जोखिम आँकलनको वर्तमान अवस्थाबारे गम्भीर हुनुपर्ने बताउँछन् । उनले भने, ‘पहिरो आयो भने के कुरा गलत भएर पहिरो आयो, पहिरोको समस्या र गम्भीरताको ढाँचा के हो ? त्यसको जोखिम के छ ? रोक्न के गर्न सकिन्छ ? यी समग्र विष्लेषण गरेर मात्रै रोकथामका उपाए अवलम्बन गर्नुपर्छ, नत्र पहिरोजन्य जोखिम व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

प्राप्त राय सुझावलाई योजना बनाएर कार्यान्वयनमा लैजाने गरी कामको थालनी गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी पछिल्लो समयमा नियमितजसो विज्ञसँग संवादमार्फत राय सुझाव लिइरहेको छ ।

वैशाखयता पहिरोमै परेर १७ को मृत्यु
प्राधिकरणका अनुसार गएको वैशाखयता पहिरोमा परेरै १७ जनाको मृत्यु भइसकेको छ । तीन महिनाको अवधिमा पहिरोका दुई सय १९ घटना भएका थिए । त्यसमा परेर १७ को मृत्यु भएको तथा पाँच जना बेपत्ता भएको प्राधिकरणले जानकारी दिएको छ । उक्त अवधिको पहिरोमा १२ जना घाइते भएका छन् भने चार सय ६५ घर प्रभावित भएको विवरण छ ।

ती पहिराले रु एक करोड ३४ लाख आर्थिक क्षति गरेको छ । यसपालि मनसुनको सुरुआतमै पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा ओखलढुङ्गालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको छ । नेपालमा जेठ ३१ गते मनसुन भित्रिएकोमा असार ९ गते मात्रै देशैभरि फैलिएको थियो । यस वर्ष नेपालमा औषतभन्दा कम पानी पर्ने आँकलन भए पनि विपद्जन्य जोखिम भने कायम नै रहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७