एलओडीका सञ्चालक सुवाल पक्राउ


२१ असार २०८०, बिहीबार
LOD THAMEL

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालक (साहु) राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ ।

ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पक्राउ पुर्जीको आधारमा सुवाललाई काठमाडौं प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसर स्रोतका अनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव र राजुसिंहमात्र सञ्चालक देखिन्छ । त्यसैले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको थियो ।

एलओडीमा छिरेकी एक १५ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो । नेपालको कानुनले वयस्कका लागि खुलेका डिस्को, क्लबलगायतका मनोरञ्जनस्थलमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश गराउने वा काममा लगाउने दुवै कार्य दण्डनीय मानेको छ ।
काठमाडौं कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पु¥याएर बलात्कार गरेको आरोपमा पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका छन् ।

ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेको आरोप छ । बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७