आज २१० औं भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै


२९ असार २०८०, शुक्रबार
Bhanbhakta aacharya Tanahu scaled

काठमाडौं । आज (शुक्रबार) २१०औं भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ ।
१८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ’भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७